नेपालगञ्जमा लैङ्गिक हिंसा र बालअधिकारका विषयमा जनचेतना फैलाउन अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालगञ्ज, मसिर २५ गते

लैङ्गिक हिंसा र महिला तथा बालअधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इस्लामी संघ नेपाल बाँकेको सभाहलमा सम्पन्न सो कार्यक्रम निरन नेपाल बाँकेको आयोजनामा भएको हो।

कार्यक्रम निरन नेपाल बाँकेका अध्यक्ष उबेदुर रहमानको अध्यक्षतामा सञ्चालन गरिएको थियो, भने साइनिङ फ्युचर एकेडेमीका प्रधानाध्यापक अब्दुल गफारले कार्यक्रम सञ्चालन गरेका थिए। अब्दुल गफारका अनुसार कार्यक्रमका वक्ताहरूले महिला हिंसा र बालअधिकारको महत्त्व तथा यससँग सम्बन्धित चुनौतीबारे स्पष्ट पारेका थिए। कार्यक्रममा स्थानीय स्तरका विभिन्न धर्मका अगुवाहरू तथा वडा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपालगञ्ज वडा नम्बर ११ का वडाध्यक्ष नन्दकिशोर काश्यपले महिला हिंसा र बालअधिकारको संरक्षणका लागि समाजमा व्याप्त भेदभाव अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले भने, “महिला हिंसा र बालअधिकार उल्लङ्घन हाम्रो समाजमा गहिरो समस्याका रूपमा रहेको छ। यसको समाधानका लागि हरेक क्षेत्रबाट मिलेर प्रयास गर्न आवश्यक छ।”

कार्यक्रममा नेपालगञ्ज नगर प्याप्सनका सदस्य रामबहादुरले पनि सम्बोधन गर्दै निरन नेपाल बाँकेको गतिविधिबारे जानकारी गराए। उनले भने, “निरन नेपाल बाँके विभिन्न धार्मिक अगुवाहरूको संस्था हो, जसले समाजमा छुवाछूत तथा महिला हिंसाविरुद्ध काम गर्दै आएको छ। छोराछोरीबीच हुने भेदभाव अन्त्यका लागि हाम्रो प्रयास अझै प्रभावकारी बनाउन जरुरी छ।”

कार्यक्रममा लैङ्गिक हिंसाका घटना, बालअधिकार उल्लङ्घनका घटना र यसको समाधानका उपायहरूबारे गहन छलफल भएको थियो। वक्ताहरूले परिवार, विद्यालय, र समाजका हरेक तहमा चेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै महिला तथा बालबालिकाको अधिकार संरक्षणका लागि नीति र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए।