
सुखड,वैशाख १० गते । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बुधवार सकारात्मक अभिभावकत्व र विद्यालय भर्ना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसा विरुद्ध अन्तर धार्मिक सञ्जाल निरन नेपालको आयोजनामा कार्यक्रम भएको थियो । बालबालिकालाई अनुशासनमा राख्न कडा सजाय र बन्देजहरूलाई प्राथमिकता दिँदै आएको भए तापनि पछिल्लो समयमा दया, माया, समझदारी, स्वस्थ र सहयोगात्मक व्यवहार र सम्बन्ध जस्ता प्रभावकारी विधिहरूको प्रयोगले सकारात्मक अभिभावकत्वमा नयाँ आयाम थपेको विषयमा चर्चा गरीएको थियो ।
अभिभावक र बालबालिका बिच आपसी विश्वास र सहअस्तित्वलाई प्रोत्साहन गर्दै बालबालिकालाई जिम्मेवार, आत्मविश्वासी, बुद्धिमान् र नैतिकवान् बन्न–बनाउन समेत प्रेरित आवश्यक रहेको कार्यक्रमका सहभागीहरूको भनाई थियो । कार्यक्रममा सकारात्मक अभिभावकत्व प्रेम, सम्मान र सहानुभूतिमा आधारित एक विधि रहेको हुँदा यसले अभिभावक र बालबालिका बिच बलियो सम्बन्ध बनाउन उपयुक्त सञ्चार, अनुशासन र उदाहरण मार्फत सकारात्मक व्यवहार र आचरण अवलम्बन गर्न प्रोत्साहित गरेको उनिहरुको धारण रहेको थियो ।
सकारात्मक अभिभावक बन्न निरन्तर धैर्य, समझदारी र सुझबुझपूर्ण बोली–व्यवहारले मात्र सम्भव रहेको बताईएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थी भर्ना अभियानलाई प्रत्येक टोल टोल सम्म पुर्याउनु पर्ने र विगतका वर्षहरूमा विद्यार्थीहरू विद्यालय भर्ना हुन छुट्नुको कारण पत्ता लगाई उनीहरूलाई समयमै विद्यालयमा भर्ना गर्नु पर्ने कुरामा जोड दिएका थिए । निःशुल्क र गुणस्तरीय शिक्षा कार्यान्वयन गर्न शिक्षक,विद्यार्थी,अभिभावक र सबै सरोकारवाला पक्षहरू सकारात्मक सोचका साथ एक जुट हुनु पर्ने बताएका थिए ।
अन्तर धार्मिक सञ्जाल घोडाघोडीका अध्यक्ष शिव प्रसाद ढकालको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । कार्यक्रममा शिक्षा शाखाका उप सचिव खगेन्द्र बहादुर सिंह,शिक्षा अधिकृत उमेश राज रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,नगर भलमन्सा समिति लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन निरन नेपालका सुदूरपश्चिम अधिकृत दिल बहादुर सिंहले गरेका थिए ।