सबल विश्व दृष्टिकोण सम्बन्धी तीन दिने तालिम अछाममा सम्पन्न

अछाम । सबल विश्व दृष्टिकोण सम्बन्धी तीन दिने तालिम अछाममा सम्पन्न भएको छ । जिल्लाको साँफेबगरस्थित डल्फिन होटलको सभा हलमा आयोजना गरिएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको थियो।

तालिममा अछाम जिल्लाका विभिन्न धर्म तथा सम्प्रदायका २५ जना धर्मगुरुहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममा समावेशी समाज निर्माण, सबल विश्व दृष्टिकोण, र सामाजिक रूपान्तरणका उपायहरूबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

समाजमा विद्यमान कुसंस्कार, कुरिती र परम्परागत हानिकारक अभ्यासहरूलाई अन्त्य गर्दै समाजलाई सकारात्मक रूपान्तरणतर्फ उन्मुख गराउने तालिमको उद्देश्य रहेको निरन नेपालका कार्यक्रम अधिकृत दिल बहादुर सिंहले बताए ।

तालिमको सहजीकरण निरन नेपालका बन्दना झा, अरियाञणी दकिला गुरुमा, लोकराज ढकाल र कृपाराज भट्टराई ले गरेका थिए। सहभागी धर्मगुरुहरूलाई सबल विश्व दृष्टिकोण, समावेशी समाज निर्माण, स्थानीय स्रोतमा आधारीत सामुदायीक विकास  र सामाजिक रूपान्तरणका उपायहरू सम्बन्धी विषयमा छलफल भएको थियो ।

तालिमपछि सहभागी धर्मगुरुहरूले प्राप्त ज्ञान र दृष्टिकोणलाई समुदायमा फैलाउने प्रतिबद्धता जनाएका छन् । यस्ता कार्यक्रमले सामाजिक समावेशिता र सहिष्णुताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएके छ ।