
बाल विवाह अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज, बालबालिका, युवा तथा धार्मिक अगुवाहरूबीच सम्वाद तथा अभिमुखिकरण कार्यक्रम सर्लाहीको पर्सा गाउँपालिकामा सम्पन्न भएको छ।
निरन नेपाल, वर्ल्ड भिजन नेपाल र आरआपिकेको संयुक्त सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा अन्तरधार्मिक सञ्जाल, चन्द्रनगर गाउँपालिका स्तरीय अध्यक्ष मौलाना अली हसनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पर्सा गाउँपालिका वडा अध्यक्ष रघुनाथ प्रसाद, महिला तथा बालबालिका शाखा प्रमुख चन्दा यादव, वन अधिकृत राजेन्द्र प्रसाद यादव, निरन नेपालका केन्द्रीय सल्लाहकार केशव प्रसाद चौलागाईं, साथै स्थानीय बाल क्लब र ‘रुपान्तरण समूह’ का बालबालिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा केशव प्रसाद चौलागाईंले बाल विवाहलाई सामाजिक अपराध भन्दै विशेषगरी युवाहरूलाई सचेतना फैलाउने अभियानमा संलग्न हुन आह्वान गर्नुभयो। उहाँले कार्यक्रममा सहभागीहरूलाई सहजीकरणको भूमिका पनि निर्वाह गर्नुभयो।
मधेश प्रदेश कार्यक्रम अधिकृत आशिष चौधरीले बाल विवाह र दाइजो प्रथालाई हानिकारक अभ्यासको रूपमा व्याख्या गर्दै, तीविरुद्धका कानुनी प्रावधानहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। सहभागीहरूले धार्मिक अगुवाहरूको सक्रियता र सहयोगले बाल विवाह अन्त्यमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे। बाल क्लब र रुपान्तरण समूहका बालबालिकाहरूले पनि बाल विवाह रोक्न प्रयास भइरहे तापनि, बाल विवाहमा बालिकाहरूको सुरक्षा, सामाजिक दबाव तथा भागी विवाहका घटनाहरू अझै चुनौतीका रूपमा रहेको बताए।