काठमाडाैँ । २५ औं रमजानको अवसरमा इस्लामी संघ नेपाल र निरन नेपालको संयुक्त आयोजनामा अन्तरधार्मिक इफ्तार कार्यक्रम गरिएको छ । विभिन्न धर्मका धार्मिक गुरु र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिवीच सद्भाव र धार्मिक सहिष्णुता बढाउने तथा रोजाको सन्देश उजागर गर्ने उद्देश्यले इस्लामिक सांस्कृतिक केन्द्र,बल्खुमा कार्यक्रम आयोजना गरिएको हो ।
मौलाना सलमान मिफ़्ताहीले कुरआन मज़ीदको पाठ गर्दै सुरू भएको कार्यक्रममा हिन्दू धर्मगुरु प्राध्यापक डिल्लीराम गौतम, ईसाई धर्मगुरु ईसुजङ्ग कार्की र चिरेन्द्र सत्याल, बहाई धर्मगुरु भक्तराज रंजीत, किराँत धर्मगुरु तीर्थराज राई, सिख धर्मगुरु ज्ञानीगोविन्द सिंहलगायत हज समितिका पूर्व अध्यक्ष ताज मुहम्मद मिया, नेपाल मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारी र निरन नेपालका संस्थापक अध्यक्ष केशव चौलागाईले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा हज समितिका अध्यक्ष शमशेर मिया, पूर्व सभासद तथा पूर्व राज्यमन्त्री ज़ाकिर हुसैन, नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सिमा खान, अलहिरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष मौलाना खुर्शीद आलमलगायतको उपस्थिति थियो । कार्यक्रममा निरन नेपालको तर्फबाट इस्लामी संघ नेपालका अध्यक्षले मौलाना नज़रुल हसनले मायाको चिनो प्रदान गर्नुभएको थियो । बौद्ध धर्मगुरु तथा निरन नेपालका अध्यक्ष पिया दस्सि महर्जनले स्वागत मन्तब्य र इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हसनले समापन मन्तब्य राखेको कार्यक्रममा उपस्थित सबैले ‘इफ्तार’ गरेका थिए ।