बालविवाह अन्त्यका लागि धर्मगुरु र सामुदायिक रेडियोहरूको प्रतिबद्धता

काठमाडौँ । धार्मिक परम्परा र मान्यताको आडमा हुने बालविवाह न्यूनिकरणका लागि धर्मगुरु तथा सामुदायिक रेडियोहरूले आआफ्नो स्थानबाट योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा बाँकेको नेपालगञ्जमा चैत ९ गते भएको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको क्रममा यस्तो प्रतिबद्धता जनाइएको हो ।

सम्मेलन अन्तर्गत ‘बालविवाह अन्त्यका लागि धर्मगुरु र सामुदायिक रेडियोको भूमिका’ विषयमा सरोकारवाला निकायका प्रतिनिधिबीच अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा बौद्ध धर्म गुरु, अखिल भिक्षु महासङ्घका उपाध्यक्ष धर्म मुर्तिले नेपालमा बालविवाह हुनुमा कतिपयले धार्मिक मान्यतालाई मुख्य दोष दिने गरे पनि त्यसमा सत्यता नभएको बताउनुभयो ।

कतिपय अवस्थामा त्यस्तो होला कि भनेर आफूहरूले धर्मगुरुहरूलाई प्रशिक्षण दिन थालेको उहाँको भनाइ छ । धर्म शास्त्रमा बालविवाह गर्नुपर्छ भन्ने कतै उल्लेख नभएको बताउँदै बालविवाह अन्त्यका लागि धर्मगुरुलाई प्रशिक्षण दिने, धर्ममा भएका कुराहरू व्याख्या गरेर जानकारी गराउन थालिएको पनि धर्ममुर्तिले जानकारी दिनुभयो । इस्लामिक सङ्घ नेपालका पूर्व अध्यक्ष मौलाना नजरुल हसनले मुस्लिम सुमदायमा पनि पछिल्लो समय बालविवाहमा कमि आउन थालेको धारणा राख्नुभयो ।
उहाँले मुस्लिम धर्ममा आफूसँगैको वा आफ्नो उमेरभन्दा २/३ वर्ष कम वा बढी उमेर समूहका व्यक्तिसँग विवाह गर्न पाउने प्रावधान रहेको उल्लेख गर्नुभयो ।तर, वर्षौदेखि सानै उमेरमा विवाह गरिदिने र धर्मलाई बद्नाम गर्न खोजिएको हुँदा मानिसमा यस्ता गलत भ्रम चिर्न आवश्यक रहेकोमा उहाँको जोड थियो ।

अहिले पनि १८ प्रतिशत बालविवाह मुस्लिम समुदायमा भइरहेको विषय सुधारोन्मुख भएको भन्दै उहाँले अबको केही समयमा यो दरलाई शून्यमा झार्नेगरी काम भइरहेको बताउनुभो ।

विशेषगरी बालविवाह अन्त्यका लागि जनचेतना र शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अभिभावक र स्वयं बालबालिकालाई पनि सचेत गराउनुपर्ने उहाँको भनाइ छ ।

वैदिक सनातन कर्मकाण्ड महासङ्घका सदस्य आचार्य डिल्लीराम गौतमले हिन्दु धर्ममा बालविवाह गर्ने वा गराउनेसम्बन्धी कुनै प्रावधान नरहेको प्रष्ट पार्नुभयो ।
हिन्दु धर्म शास्त्रका अनुसार जब कोही पुरुष आफ्नो परिवार धान्न सक्ने, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने र उमेरले परिपक्व हुन्छ अनि मात्रै आफ्नै उमेर समान र आफू जत्तिकै कन्या अर्थात् महिलासँग विवाह गर्न पाउँछ भनेर उल्लेख गरिएको उहाँले बताउनुभयो ।

धर्मको नाममा गलत प्रचार गर्ने परिपाटी वर्षौँदेखि चलि आएका कारणले पछिल्लो समय धर्मगुरुहरूले त्यसलाई प्रष्ट पार्ने काम गरिरहेको उहाँको भनाइ छ ।
आचार्य गौतमले भन्नुभयो, ‘सानै उमेरमा छोरीको विवाह गरिदिनाले पुन्य कमाइन्छ र कन्यादान गर्नुपर्छ भन्ने गलत मान्यतालाई अन्त्य गर्न धर्मगुरुहरू अभियानमा जुटेका छन् । सानै उमेरमा विवाह गराउन नहुने विषयलाई बहसमा ल्याएर त्यस्ता विवाहमा जाने र विवाह गराउनेलाई बहिस्कार गर्ने परिपाटी सुरु भएको छ । यसले समाजमा बालविवाह अन्त्यमा सहयोग पुग्ने विश्वास पनि छ ।’