सुरेश यादव । बल्थली (काभ्रे) । परिवर्तनको अभियानले नेपाल संवाद अन्तरगत आयोजना गरेको ‘दक्षिण एसियाली सम्मेलन’बाट प्रमुख चार धर्मका अगुवाहरुले धार्मिक द्वन्द्व निरुत्साहितका लागि वकालत गरेका छन् ।
केही समयदेखि विभिन्न स्थानमा देखिइरहेको धार्मिक सद्भाव बिथोलिने गतिविधि रोक्न हिन्दु, मुस्लिम, बौद्ध तथा क्रिश्चियन धर्मका अगुवाहरुले एउटै मञ्चबाट पहल गरेका हुन् । परिवर्तनको अभियान नेपालले आयोजना गरेको सम्मेलनमा नेपालका विभिन्न जिल्लासँगै दक्षिण एसियाली मुलुकहरुका प्रतिनिधि सहभागी छन् । आइतबार सम्मेलनमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै धार्मिक अगुवाहरुले धर्मको मर्म विपरित ठाउँठाउँमा द्वन्द्व फैलिइरहेको बताए ।
‘वेद, कुरान, त्रिपिटक वा बाइबल हामीले जे धर्मको कुरा गरेपनि धर्मको मर्म भनेको सत्य, शान्ति र प्रेम नै हो’ क्रिश्चियन धर्मका राष्ट्रिय अगुवा पास्टर रबिन पाख्रिनले भने ।
त्यस्तै हिन्दु धर्मको वकालत गर्ने नेता केशव चौलागाईँ भन्छन्, ‘सत्यमेवेश्वरे लोके सत्य धर्म सदाश्रित । सत्यमुलानी सर्वाणी सत्यनास्ति परम्पदम् । अर्थात्, सत्यमा आधारित यो संसारमा सत्यबाहेक केही नै छैन ।’
मुस्लिम धर्मकी अगुवा शेख नाहिदा बानोले धर्मशास्त्रको मर्मविपरित धर्मको नाउँमा अतिवाद हावी हुँदा समाजमा द्वन्द्व उत्पन्न भइरहेको बताइन् । भिक्षु चन्द्र कृतिले भने, ‘हिंसा रोकौँ, प्रेम बाडाँै सब ठीक हुन्छ । प्रेमले द्वन्द्वलाई निरुत्साहित गर्छ ।’ उनले थपे, ‘जुनसुकै धर्म भएपनि द्वन्द्वलाई मान्यता दिएको छैन । त्यसैले अतिवादी व्यक्ति धार्मिक हुनै सक्दैन ।’
भारत, कर्नाटकका प्राध्यापक नरेन्द्र नायकले धर्मको नाउँमा राजनीति गर्ने देशमा शान्तिको परिकल्पना गर्नु व्यर्थ हुने बताए । ‘म व्यक्तिगत रुपमा कुनै धर्मप्रति आस्था राख्दिन तर, सबै धर्मप्रति मेरो सम्मान छ’ प्राध्यापक नायकले भने, ‘धार्मिक भावनाले होइन धार्मिक स्वार्थले समाजमा द्वन्द्व निम्तिएको हो ।’ नायकले धर्म कुनै पनि व्यक्तिको आस्थामा निहित विषय रहेको भन्दै मानवताभन्दा ठूलो धार्मिकता केही हुन नसक्ने दावी गरे । ‘मानव अधिकारको सवालमा संवेदनशिल व्यक्तिले जुनसुकै धर्ममा आस्था राखेपनि हिंसा वा द्वन्द्वमा रमाउन सक्दैन’ नायकले थपे ।
क्रिश्चियन धर्मका अगुवा पाख्रिनले जतिसुकै विषय उल्लेख भएपनि बाइबलले मुख्य दुई कुरालाई फोकस गरेको बताए । ‘बाइबलको महान आज्ञामा दुई कुरा छ । पहिलो, जाउ र तिमीले प्रभु येशुको बारेमा बुझेको कुरा समुदायमा प्रचार गर । अर्को, तिमीले जसरी आफुलाई प्रेम गर्छौ त्यसरी नै छिमेकीलाई पनि प्रेम गर’ पाख्रिनले भने, ‘हामी क्रिश्चियनमा पनि यी विषयको विवाद छ । आफुजस्तै अरुलाई प्रेम गर भन्ने विषयमा हाम्रै साथीहरुमा व्यवहार प्रष्ट नदेखिएको सत्य हो । दुई दिनपछि नेपालमै हामी क्रिश्चियन अगुवाहरुको भेला बसेर यी विषयमा तीन दिवसीय विमर्श आयोजना गर्दैछौँ ।’
बाइबलले त हिंसा गर्ने र आफुलाई सराप्ने व्यक्तिलाई पनि आशिर्वाद दिनुपर्ने कुरा उल्लेख रहेको बताउँदै पाख्रिनले थपे, ‘क्रिश्चियनले प्रतिवाद नै गर्दैन । हिंसा वा द्वन्द्व त हाम्रा लागि धेरै परको कुरा हो ।’ कहीँ कतै क्रिश्चियन धर्माबलम्बी कुनै अर्को धर्म मान्ने व्यक्ति वा समूहसँग झगडा गरेको हो भने त्यो धर्मशास्त्रले नभएर धर्मका अगुवा भनाउँदाले आफ्नो निहित स्वार्थमा परी द्वन्द्व निम्तियाएको हुन सक्ने पाख्रिनको भनाई हो ।
शेख बानोले धर्मशास्त्रको भावना विपरित व्यवहार प्रदर्शन गर्दा धार्मिक द्वन्द्वले पश्रय पाउने गरेको बताइन् । उनले भनिन्, ‘कुरानले जिहादको बारेमा दुईवटा कुरा भनेको छ । पहिलो, आफुभित्र रहेका नकारात्मक भावना परित्याग गर । अर्को, यदि तिम्रो अस्तित्व समाप्त हुनेगरी कसैले आक्रमण गर्छ भने प्रतिवाद गर ।’ तर, कुरानमा रहेको ती स्पष्ट सन्देशको पनि भावना कुल्चेर अर्को धर्मलाई क्षति पुर्याएपछि मुस्लिम धर्मको प्रबद्र्धन हुने जस्तो बुझाइ पालेर व्यवहार गर्दा धार्मिक द्वन्द्वले स्थान पाउने उनको भनाई थियो ।
हिन्दु धर्मगुरु चौलागाईँले हिन्दु धर्ममा खुला विचार भएपनि सार भनेको सत्य मात्र भएको बताए । ‘जे सत्य छ त्यसको पक्षमा बोल, पक्षपोषण गर भनेर हिन्दु धर्मशास्त्र भन्छ’ उनले थपे, ‘आफुलाई हिन्दु भन्ने तर सत्यको विपक्षमा व्यवहार गर्ने व्यक्ति साँचो अर्थमा धार्मिक होइन भन्छु म ।’ भिक्षु चन्द्र कृतिले धर्मलाई अनेक स्वार्थ पुर्तिका निम्ति प्रयोग गर्दा सामुदायिक विखण्डन र द्वन्द्व उत्पन्न हुने बताउँछन् । ‘हामीले कुनै धर्मको विरोध गर्दैनौँ । तर, धर्मको नाउँमा हिंसा गर्ने, झुठ बोल्ने, भ्रष्टाचार गर्ने जस्तो कुकृत्य रोक्नुपर्छ । प्रेम गर्नलाई कुन धर्मको व्यक्ति बन्नुपर्यो र ?’ उनले भने ।
पाष्टर पाख्रिनले भने कुनै पनि धर्म मान्ने व्यक्ति भएपनि पाखण्डी नभए मानवहित, प्रकृति र न्यायको पक्षमै काम गर्ने जिकिर गरे । ‘धर्मको कुरा गर्ने तर स्वार्थ अर्कै हुने । अनि, धर्मप्रति आस्था राख्ने तर आधुरो ज्ञानको भरमा समुदायमा जाने व्यक्तिबाट भने द्वन्द्वले मलजल पाउनु निश्चित हो । त्यसैले म भन्छु, कि त धर्मको कुरै नगर । धार्मिक अभियानमा लाग्छौँ भने धर्मको मर्म बुझेर मात्र अघि बढ ।’