धरानमा धार्मिक सद्भाव कायम गर्न धार्मिक संघ संस्थाको अपिल

धरान उपमहानगरपालिका वडा नं १४ विजयपुरको बालगोपाल मन्दिर नजिक (मण्डली भवन) चर्च निर्माणका सन्दर्भमा उठिरहेको विवाद समाधानका लागि महिला हिंसाविरुद्ध राष्ट्रिय अन्तर्धार्मिक सञ्जाल (निरन ) नेपालले काठमाडाैंमा आयोजना गरेको विभिन्न धर्मका संघसंगठनको सामुहिक छलफलमा सबै धर्मबीच धार्मिक सद्भाव कायम राख्ने सहमति भएको छ ।  

पछिल्लो समय धरान घटनाले  धार्मिक सद्भावमा खलल पार्न सक्ने सम्भावना सृजना भइरहेको अवस्थामा सहमति र धार्मिक सद्भाव कायम गर्नको लागि विभिन्न धर्मका संघसंगठनका नेतृत्ववर्ग, धर्मगुरुहरू र धार्मिक अगुवा र सरोकारवालाबीच छलफल गरी साझा बुझाइ गरि सद्भाव कायम गर्नको लागि मातहतका सबैलाई आह्वान गरिएको निरन नेपालका  अध्यक्ष भिक्षु पियदस्सी महर्जनले जानकारी दिए। भेलामा सहभगि विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति, इस्लामी संघ नेपाल, अखिल नेपाल भिक्षु महासंघ, नेपाल राष्ट्रिय मण्डली संगती(एनसिएफ नेपाल), नेपाल पुरोहित संघ, वैदिक सनातन कर्मकाण्ड महासंघ नेपाल, ओशोधारा नेपाल, किराँत मुन्दुम संरक्षण समिति, श्री कृष्ण प्रणामी सेवा समिति नेपाल, बहाई धर्मका नेतृत्ववर्ग र प्रतिनिधि लगायत निरन नेपालका पदाधिकारी समेतको सहभागितामा छलफल गरि ५ बुँदे प्रतिवद्धता र अपिल पत्रमा हस्ताक्षर गरिएको थियो ।  

भेलाले केन्द्रमा भएको एकता र सद्भावको सन्देश बुझेर धरानमा स्थानीयरूपमा पनि साझा बुझाइ बनाउँदै सद्भाव कायम गर्नको लागि सन्देश दिनसबै संघसंगठनले केन्द्रबाट अपिल गरेको प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमा पनि साझा सहमतिको लागि छलफलको वातावरण बनाउने समेत संघसंगठनले प्रतिवद्धता व्यक्त गरेका छन् । राजनीतिक र समूहगत स्वार्थमा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने र बहकाउने तत्वबाट सजग रहँदै चेतना अभिवृद्धि गर्न आफू मातहतका धार्मिक अनुयायीहरुलाई धर्मगुरुहरुले सामुहिक अपिलसमेत गरेका छन् ।