
काठमाडौँ : महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा न्यूनीकरणका लागि विभिन्न धार्मिक अगुवामार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन्।
महिला हिंसाविरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा न्यूनीकरण र महिलाको मानसिक स्वास्थ्यका क्षेत्रमा काम केन्द्रित गर्न लागिएको निरनकी उपाध्यक्ष डा. नम्रता पाण्डेले बताइन्।
अन्तरधार्मिक गतिविधिमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी समाजमा रहेका कुरीति अन्त्य गर्न सकिएको उदाहरण प्रस्तुत गर्दै अब मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि धर्मगुरुहरू केन्द्रित हुने योजना रहेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिइन्।
पास्टर रुविन पाख्रिनले धर्मका नाममा हुने कुरीति अन्त्य गर्दै मानव तथा परिवार कल्याणका लागि आफूहरूले काम गर्ने बताए।
कार्यक्रममा विभिन्न धर्मका संघसंस्थाका नेतृत्ववर्ग, धर्मगुरु, धार्मिक अगुवा, सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको थियो।
महिला आयोगकी उपसचिव सीता अधिकारीले महिला आयोगले पनि महिला हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्यका क्षेत्रमा अन्तरधार्मिक संस्थासँग सहकार्य गर्ने बताइन्।
कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा महिला हिंसा अन्त्यका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको क्षमता विकास आवश्यक रहेको बताए।
समाज कल्याण परिषद्की निर्देशक भगवती संग्रौलाले परिषद् सधैं समाज कल्याण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका गतिविधि सञ्चालन गर्ने संस्थासँग सहकार्य गर्न तयार रहेको बताइन्।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३, साभारः थाहाखवर